कार्य व्यस्तताका कारण म आमालाई केही हप्ता बिराएर मात्रै भेट्न पाउछु। आमा नातिनी आउँदा दङ्ग पर्नु हुन्छ।आमा म कीर्तिपूर आउँदै छु भन्ने थाहा पाउँदा आफ्नो खाटसँगैको झ्यालबाट आँखा थाके पनि निरन्तर मलाई कुरेर बस्नु हुन्छ। झ्यालबाट बाहिर हेरेर बस्नु, सायद आमालाई बच्चाबच्ची आउने आशाको परखाई हो। यो कार्य आशा बाट सुरु भए तापनि हजुरबुबा बित्नु भए यता यो झ्याल उहाँको दिन कटाउने दौतरी बनेको छ। झ्यालबाट गैरी गाँउको गैरी खेत देखिन्छ, खेतका डिलमा बिगत एक दशकमा लटरमै फलेका कंक्रिटका (concrete) घरहरु र राज कुलो सँगै दुध पोखरी पुग्ने मुल बाटो।
हिजो निकै राती आमालाई खबर नअरी आएका अनि केही चाड नभएकाले आमालाई म घर आएको पत्तो थिएन। उठ्ने बित्तिकै आमालाई जिस्काउन आमाको कोठा पस्दाँ आमा गैरी खेततिर परिरहेको झरी हेर्दै हुनुहुन्थ्यो।
सानै देखी मेरो बाबा-काकाले आमा भनेको सुन्दै आएकोले म हजुरआमालाई नि आमा भन्छु। आमाको बिहे अघिको नाम तुलसा देवी अरे। आमाले भने अनुसार, बिहे गरेर जुनि फेरेसी नयाँ नाम दिन्छन् रे घर पटिकाले। मेहनत नै न गरी मेरो आमाको नाम साइलो छोरासँग बिहे भएकाले साईली भयो। मैले पनि आमाको नाम तुलसा देवी हो भनेर कागजात खोज्दा नागरिकतामा भेटेँ। आमालाई सोध्दा आमालाई नै यो नाम याद छैन भन्नु भो।
म सधै झैँ आमासँग गफ सुरु गर्न एकै प्रश्न तेर्स्याउँछु,
“के गरिछ्यौ बुढी मान्छे!”
यो प्रश्नले मलाई आमाको संसारको दैलो खोलि दिन्छ।आमा मेरो प्रश्नको जवाफ नदिँ उल्टै मलाई प्रश्न गर्छिन्, “ त आको त थानै पाईन, झरीले चिसो भर चाडै ओछ्यान सामाते हिजो। भात राख्देका थे कि नाई? तेरोमरो भनेर त आउनु पर्छ नि!”
म हाँस्दै आमासँगै खाटमा पसेँ अनि हामी दुवै खेत तिर हेर्न थाल्यौँ।आमाको लवजमा छुट्टै मीठास छ। वर्षौ सुन्न नपाएका शव्दहरु आमाले सुनाउदाँ मलाई कहिलेकाही युग नै फेरे झैँ भान हुन्छ।
आमा सधै झैँ त्यो पहिलो प्रश्न तेर्साउनु हुन्छ।
“अनि असनमा बाउआमादाइभाइ सबलाई आराम नै छ नि? मावलाको हजुरआमा गाँउ त गाछैनन् नि? नपठाउनु है रामेछाप बिचरीलाई सारै दु:ख छ। काठमाडौँ नै बसे बरु बुढेस्काला सास फेर्न पाउदिहुन् बर।”
मावलाकी हजुरआमा हरेक हिउँदमा खेतीपाती खासै नहुँदा १०-१५ दिन असनमा बस्न आउनु हुन्छ। यसपाली आए पछि रामेछाप नपठाउने सल्ला भएको छ घरमा।
“सबलाई सन्चै छ। दाइभाइसँग खासै कुरा हुन्न के गर्छन् उनिहरुलाई नै था होला। हजुरआमा यस्पाली जान्न कि? हजुरबुबाले लिन आए भनि चै कसो था छैन्।”
“मावलाका हजुरबाले लिन आए नि नपठाउनु। गाँउमै अर्कि छदै छन्। हजुरआमा गए कैले जस पाउने हैनन्। काम गर्न नसकेनि गाममा सुख पाईन्न। छोरो आमालाई माया गरेर राख्नु है(मायालु भावमा)। बर १२ जना सन्तान भर नि कोही छोरा छैनन्। छोरा नभाझै गर्न नदिनु। भाइ छुच्चो छ, केही भन्नु हुन्न भनेर बुझाउनु। बुढाबुढीको मन हो सारै कमलो हुन्छ बाबै। खुसी बनार राख है।कीर्तिपूर त बस्न मान्दैनन् नत्र मावलाकी आमा र म दुईसँगै बस्थिम्।”
यति नभन्दै आमाको आँखा मैले बाटेको कपालको धागोमा जान्छ।
“के कालो धागो लाकि होला।(चित्त खासै नबुझेको भावमा) रातो धागो बाट्नु नि छोरी मान्छे भर।”
म हाँस्दै भन्छु, “यस्पालि दशैमा केटा जसरी कपाल काट्छु आमा अनि धागोको टेनसन लिनु पर्दैन।”
आमा हात उज्याउँदै, “खुब जान्नि भैछस्। छोरी मान्छे भर। हेर त धागो बिटसम्म बाटेकी। यसरी बाट्यो भने माइती बाटिन्छन् रे।”
“बालै भएन नि आमा। तिनिहरुले न खाना द्या छन्। न कै”
“भन्छेस् नि बाबै ब्याअरेसी था पाउदिहोस् माइति। अलि माथि नै बाट्नु धागो।
यति कुरा नसक्दै आमाऽऽऽऽऽऽऽ भन्दै सानो भाइ कोठा छिर्छ र मलाई देखेर, “यो केटी या पो रैछ। ट्वाइलेट (Toilet) जान्छु भनेर तपाईको मा आइछे” भन्दै सिराकमा घुस्रिन्छ।मसँग हात खुट्टा दुवै प्रयोग गरी चल्न थाल्छ।
आमा हाँस्दै, “यस्तो लाठे भर नि दिदीलाई तँ भन्छन्, लात्ति लाउँछस्? पाप लाग्छ। म तलाई एउटा कथा सुनाउँछु।”
भाइ च्याठिदै सुन्दिन भन्छ।
तर पनि आमा बिस्तारमा कथा सुनाउन थाल्छनु हुन्छ, “जून र घाम दाजु बैनी थे अरे। उनीहरुको बीच, को बिहान आउने को राती आउने भनेर छलफल हुँदैथ्यो।अनि बैनीले राती डर लाग्छ बिहान काम गर्छु भन्दा जून रिसाएर बैनीको पेटमा लात्ति हान्छ। अनि उस्ले श्राप पाएर मुख भरी कोर निक्लन्छ। त्यसैले जूनको मुखमा ढाग छ। दिदीको त खुट्टा ढोग्नु पर्छ।”
कुरा नसिध्याउँदै, “खुब खुब” भन्दै भाइ बाहिर निक्लन्छ। आमासँग सायद सबै परियोजनमा सुनाउन दन्त्य कथाहरु छन्। म आमातिर सर्छु र आमा मेरो टाउको मुसार्न थाल्नु हुन्छ।
“बत्ति पनि कैले बन्ने हो। मुइले त बिन्दा वन, वन भन्थान्ति के हुन्थो( आश्चर्यभावमा) कस्तो रमाईलो र च। किस्नै किस्न, झलमल बत्ती, यमुना नदी। आफु त गाको हैन बाबै, टिबिले देखाको। अहिले बत्ति नभर पानि पनि तताउन पा छैन।”
आमाले आफू बोल्दा बेला बेलामा डाढ थिच्दै हुनु हुन्थ्यो। मैले सोधेँ, “आमौँ सन्चो छैन क्या हो?”
“आऽऽऽऽ केही भा छैन। मलाई केही रोग छैन। कैले काई डाढ दुख्छ त्यो नि चिसोले। अहिले बत्ति नभर आगो ताप्न नि पा छैन।”
आमालाई तातो दिने अग्नि सबै आगो हो। चाहे त्यो हिटर होस् या ग्यास स्टोभ।
“हट व्याग छैन र?”
“हजुरबा हुदाँ ल्याको हट व्याग चुहिनि भाछ। अब भत्ता आएसी किन्छु भनेर बस्याछु।”
म रिसाउँदै भन्छु, “खुब जान्याछ्यौँ। यत्रा छोराछोरीनातिनातिना छन्। माग्न सक्दिनौँ।”
“आऽऽऽऽऽ सबैको बित्दो छ। आफ्नो आफ्नो गर्याछन्। के दु:ख दिनु बरु दशैमा जमरा राख्न आम्दा किमी(Kiwi) लेर आइदे है मलाई। माथी भत्क्यापाटीमा कतै छैन। खुब मीठो हुन्छ। जमरा राख्न आम्नु नि फेरी।”
“हस् आमै म आम्छु क्या। तिम्रो किमी पनि ल्यादिन्छु। यसरी मागे त हट ब्याग नि ले र आम्दो हुँ हिजै।”
आमाले जवाफ नदिँदै म मेडिकल जान रेडी (ready) भएँ। आमा झरी छ, पछी जानु भन्दै हुनु हुन्थ्यो। म भने सुने नसुने झै निक्लिएँ।

Member discussion